मनाङ । लगातार भइरहेको वर्षासँगै आएको बाढी-पहिरो र क्षतिको क्रममा हिमाली जिल्ला मनाङमा रहेका पर्यटकहरूको अवस्थाबारे जानकारी लिन जिल्ला सुरक्षा समितिसहितको टोली अपर मनाङ पुगेको छ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज पौड्यालका अनुसार, तल्लो छत्र क्षेत्रमा बाढी-पहिरो र माथिल्लो मनाङमा हुन सक्ने हिमपातलाई मध्यनजर गर्दै टोली अनुगमनमा निस्किएको हो। उनले सम्भावित प्राकृतिक विपद्का कारण बाटोघाटो अवरुद्ध हुन सक्ने र पर्यटकहरू अफ्ठेरो अवस्थामा पर्न सक्ने भएकाले अनुगमन टोली तयारी अवस्थामा रहेको प्रशासनलाई जानकारी दिए।
वर्षासँगै आउन सक्ने सम्भावित बाढी-पहिरोका कारण स्थानीय जनजीवन प्रभावित हुन सक्ने भएकाले टोलीले अवलोकन तथा आवश्यक उद्धारको तयारीसमेत गरेको प्रजिअ पौड्यालले बताए।
मनाङ जिल्ला पदयात्राका लागि महत्त्वपूर्ण गन्तव्य मानिन्छ। थोरङ्ग ला पास, लार्के पास, कालापास, तिलिचो, लमजुङ हिमाल लगायतका क्षेत्रहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले समेत अत्यन्त आकर्षक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण मानिन्छन्।
यसअघि, जिल्ला प्रशासन कार्यालय मनाङले असोज २० गतेसम्म देशभर निरन्तर वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन सूचना जारी गरेको थियो। साथै, असोज १८, १९ र २० गतेसम्म सवारी साधनको आवतजावत बन्द गर्ने निर्णय पनि गरेको प्रशासनले जनाएको छ।







