काठमाडौँ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले सचिवालयमा राखिएका ६ जनालाई हटाएका छन् । तलब भत्तामै मासिक दश लाख रुपैयाँ खर्च हुने गरी राखिएका ६ जनालाई हटाएका हुन् ।
संघीय सरकारले ३ जना मात्र सचिवालयमा राख्न परिपत्र गरेसँगै दुई जना विज्ञ र सल्लाहकारसहित ६ जनालाई मुख्यमन्त्रीले हालै पदबाट हटाएका हुन् ।
मुख्यमन्त्री कार्यालयका अनुसार मुख्यमन्त्री आचार्यले राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, अर्थविज्ञ ईश्वरीप्रसाद अर्याल, पूर्वाधार विज्ञ जीवन अर्याल, ग्रामीण विकास विज्ञ युवराज घिमिरे र शिक्षा विज्ञ दलबहादुर गुरुङलाई हटाएका हुन् ।
संघीय अर्थ मन्त्रालयले फजुल खर्च रोक्न आवश्यकताभन्दा बढी विज्ञ, सल्लाहकार र संयोजक नराख्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको सचिवालय १४ सदस्यीय जम्बो थियो । सचिवालयका ३ जनाबाहेक बाँकीलाई पनि दशैँ बिदा लगत्तै निर्णय लिएर हटाउने तयारीमा मुख्यमन्त्री रहेका सचिवालयका एक कर्मचारीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार जेनजी आन्दोलनको एक सातापछि नै मुख्यमन्त्री आचार्यले विज्ञ र सल्लाहकार हटाउने निर्णय गरेका थिए ।







