काठमाडौँ । जेन जेड मूभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई राजीनामा दिन आग्रह गर्दै दबाब पत्र सार्वजनिक गरेको छ। उक्त पत्र सोमबार आयोगका प्रमुखलाई सम्बोधन गरी पठाइएको हो।
सङ्गठनका अनुसार, विक्रम संवत् २०८२ भाद्र २३ गतेबाट सुरु भएको जेनजेड आन्दोलनका मुख्य मागहरू-भ्रष्टाचार र दण्डहीनताको अन्त्यसँगै अख्तियारको निष्पक्ष भूमिकाको आवश्यकता जोडिएको छ। तर, हाल आयोगमा नियुक्त पदाधिकारीहरू स्वतन्त्र र निष्पक्ष छैनन् भन्ने आरोप लगाइएको छ।
राजनीतिक हस्तक्षेप र पारदर्शितामाथि प्रश्न
पत्रमा उल्लेख गरिएको छ: प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले संसदीय सुनुवाइ विना अध्यादेशमार्फत गरेको हुँदा त्यसको वैधानिकता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको हो।
सङ्गठनले आयोगका प्रमुख राईमाथि “राजनीतिक रूपमा पक्षपाती व्यवहार” गरेको आरोप लगाउँदै वाइडबडी विमान खरिद प्रकरणलगायतका मुद्दाहरूमा मुछिएको दाबी गरेको छ।
“विशेष अदालतले समेत अख्तियारको कार्य प्रणालीमाथि प्रश्न उठाइसकेको छ। यस्तो अवस्थामा तपाईँको नेतृत्वमा निष्पक्ष अनुसन्धान र कारबाही हुने विश्वसनीयता छैन।” पत्रमा भनिएको छ ।
नैतिकताको आधारमा राजीनामाको माग
जेन जेड मूभमेन्ट अलायन्सले ७५ जना नागरिकले कुशासन र भ्रष्टाचारविरुद्ध दिएको बलिदानलाई सम्झँदै, नैतिक जिम्मेवारीका आधारमा प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ।
सङ्गठनले यो मागलाई निष्पक्ष शासन, जबाफदेहिता र संस्थागत सुधारतर्फको जनदबाबको निरन्तरता भएको बताएको छ।
पत्रको बोधार्थ प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, कानुन मन्त्री तथा अख्तियारका अन्य आयुक्तहरूलाई पनि पठाइएको छ। साथै, सङ्गठनले प्रधानमन्त्रीको निजी सचिवालयमा दर्ता गरिएको जनादेश सम्बन्धी सम्झौताको दोस्रो माग-“संस्थागत भ्रष्टाचार, सार्वजनिक संस्थाहरूको राजनीतिकरण (दलीयकरण) र राजनीतिक नियुक्तिको अन्त्य” लाई पुनः स्मरण गराएको छ।
जेनजेड मूभमेन्ट अलायन्स विभिन्न जेन जेड समुदायहरूको ऐक्यबद्ध समूह भएको र देशभरका ३९ जिल्लालाई प्रतिनिधित्व गर्ने १२ वटा समूहमार्फत भ्रष्टाचार, कुशासन र अन्यायविरुद्ध आवाज उठाउँदै आएको बताइएको छ ।








