काठमाडौँ । अविरल वर्षापछि देशका विभिन्न स्थानमा बाढी-पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार कार्य जारी रहेको छ। नेपाली सेनाले पाँचथरदेखि लिएर तराईका विभिन्न जिल्लासम्म उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
नेपाली सेनाका अनुसार मिति २०८२ असोज १७ गते रातिदेखि परेको अविरल वर्षाको कारण पाँचथरको फिदिम नगरपालिका-१ र ११ को सिमानास्थित फेमे खोलामा पानीको बहाव बढ्दा बाढीले फिदिम-फालाटे सडकखण्डमा रहेको हेमपाइप र डाइभर्सन बगाएको थियो। उक्त अवरोधपछि श्री वीरदल गणबाट खटिएको सेनाको टोलीले मानिस आवतजावत गर्न मिल्ने गरी अस्थायी पुल निर्माण गरी आवागमन सहज बनाएको छ।
यससँगै सेनाले हालसम्म १५ वटा जिल्लामा (झापा, मोरङ, सप्तरी, सर्लाही, सिराहा, महोत्तरी, इलाम, उदयपुर, चितवन, रसुवा, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे) गरी १३१३ जनाको सकुशल उद्धार गरेको जनाएको छ। तीमध्ये २४ जनाको हवाई माध्यमबाट उद्धार गरिएको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।
सेनाले बाढी, डुबान र पहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार तथा आवागमन सुचारु गर्नका लागि स्थानीय प्रशासनसँग सहकार्य गर्दै निरन्तर परिचालन भइरहेको जनाएको छ।







