काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासबाट हत्या गरिएका विपिन जोशीलाई जीवित फर्काउन नसक्नु पीडादायक विषय रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका प्रयासबीच पनि उनलाई जीवित फर्काउन नसक्नु पीडाको विषय भएको बताएका हुन् ।
‘विपिनको अपहरणपश्चात् उहाँको सकुशल रिहाइका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भएका निरन्तर प्रयासका बाबजुद उहाँलाई जीवित फर्काउन असफल हुनु अत्यन्त पीडादायक विषय हो,’ प्रचण्डले भनेका छन् ।
साथै, उनले विपिनलाई श्रद्धाञ्जली दिँदै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।
‘मैले आफन्तहरूको मृत्युको पीडा अत्यन्तै नजिकबाट आत्मबोध गरेको छु । यो पीडादायी क्षणमा धैर्यधारण गर्दै अघि बढ्न अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिर नै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावासले बताएको छ ।







