काठमाडौँ । नेपालका विभिन्न सरकारी कार्यालयहरूमा पछिल्ला महिनाहरूमा “जेन जेड आन्दोलन”का नाममा अनुगमन, ज्ञापन पत्र र ‘सुशासनको दबाब’ दिने गतिविधि बढेका छन्। तर, यिनै गतिविधिको नेतृत्व गर्ने भनिएका अर्जुन बहादुर शाही आफैँ ठगी, बैंकिङ्ग कसुर र चेक बाउन्सका अभियुक्त रहेका खुलेका छन्।
अछामका २६ वर्षीय शाहीबिरुद्ध प्रहरीले ठगी, वैदेशिक रोजगारमा अनियमितता र चेक बाउन्सका उजुरीमा मुद्दा दर्ता गरेको पुष्टि गरेको छ।
धम्की र ‘अनुगमन’को नाटक
अर्जुन शाही पछिल्ला महिनामा जेन जेडका ब्यानरअन्तर्गत विभिन्न सरकारी निकायहरूमा पुगेर आक्रामक शैलीमा उच्च अधिकारीलाई राजीनामा माग्ने र धम्क्याउने गर्दै आएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संवैधानिक निकायसम्म उनी र उनको टोली पुगेको देखिन्छ।
कहिले “राजीनामा दिनुस्, होइन भने थुतेर ल्याउँछु” भन्ने धम्की देखि “भ्रष्टाचारको जरो तपाईँ नै हो” भन्ने आरोपसहितका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल बनाइँदै आएका छन्।
तर, ती भिडिओ र प्रदर्शनको पछाडि यथार्थ फरक देखिन्छ। प्रहरी अभिलेखअनुसार, ठकुरी आफैँ विभिन्न आर्थिक अपराधका अभियुक्त हुन् र केही समयअघि मात्र हिरासतबाट छुटेका थिए।
ठगीदेखि चेक बाउन्ससम्मका मुद्दा
शाहीमाथि श्रीकृष्ण फुयाँलसहितका पीडित युवाहरुले ठगी र बैंकिङ्ग कसुरमा उजुरी दर्ता गरेका थिए ।
प्रहरी वृत्त महाराजगञ्जको अभिलेखअनुसार, शाहीले युवायुवतीलाई विदेश पठाउने नाममा लाखौँ रुपैयाँ असुलेको तथा उनी सञ्चालित “रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस” मार्फत जारी गरेको तीन वटा चेक खातामा रकम नहुँदा फिर्ता भएको थियो।
वैदेशिक रोजगार विभाग स्रोतका अनुसार पनि शाहीले युवायुवतीलाई जापान पठाउने भन्दै ८ लाख रुपैयाँ असुलेका थिए। उक्त प्रकरणमा उनलाई २८ वैशाख २०८२ मा पक्राउ गरी अनुसन्धानका लागि विभागमा पठाइएको थियो।
बौद्ध, स्वयम्भू र महाराजगन्ज प्रहरी वृत्तमा यस्ता उजुरीहरू दर्ता भएको पुष्टि प्रहरी स्रोतहरूले गरेका छन्।
यसबिच, उनका मुद्दा अझै प्रहरी अनुसन्धानमै छन्। महाराजगन्ज वृत्तले वैदेशिक रोजगार विभागलाई पठाएको पत्रमा पनि उनीविरुद्धको बैंकिङ्ग कसुर अनुसन्धान जारी रहेको स्पष्ट उल्लेख छ।

हिरासतपछि ‘अभियन्ता’को पुनरागमन
प्रहरी हिरासतबाट छुटेको केही समयपछि शाहीले आफूलाई जेन जेड आन्दोलनको अभियन्ता भन्दै पुनः सार्वजनिक जीवनमा सक्रियता बढाएका थिए ।
उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीविरुद्ध धम्कीमूलक तवरले थर्काएका थिए । भिडिओमा उनले “राजीनामा दिनुस्, होइन भने काम गर्न आउनेलाई ल्याउँछौँ” भन्दै निर्देशन दिनेजस्ता व्यवहार देखाएका छन्।
यसपछि शाहीको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा पुगेको थियो । त्यहाँ पुगेर कर्मचारीको सातो खाएको टोलीले प्रमुख आयुक्त प्रेम राईसँग भेट्ने समय मिलाउन भनेका थिए ।
समय मिलेपछि भेट गराउने अख्तियारका कर्मचारीले बताउँदै गर्दा शाही जंगिए, ‘सोझो हिसाबले कर्मचारीतन्त्रलाई नगाल्ने रैछ । हामीले जनतालाई के म्यासेज दिने, भित्र भेट्न दिएन भन्ने रु टाइमको कुरै नगर्नुस् । हामी विथआउट टाइमिङ आएको हो । मन्त्रालयमा हरेक ठाउँमा विथआउट टाइमिङ गइरहेका छौँ । संवैधानिक आयोगका १२ वटा निकायमा हामी पुगिसकेका छौँ । अख्तियारमा मात्र किन भेट्न नमिल्ने रु उजुरीको कुरै छैन, यस्ता त कति हुन्छन्, कति हुन्छन् ।’
राजनीतिक महत्त्वाकाङ्क्षा र ‘जनप्रिय’ अभियानको आवरण
अर्जुन शाही २०८१ वैशाखमा भएको इलाम-२ को प्रतिनिधिसभा उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थिए। “डोजर” चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका उनले जम्मा ५५ मत प्राप्त गरेका थिए।
राजनीतिक असफलतापछि उनले सामाजिक आन्दोलनको ब्यानरमार्फत पुनः सार्वजनिक ध्यान तान्ने प्रयास गरेको देखिन्छ ।








