काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठान, मध्यपुर थिमिद्वारा आज यहाँ आयोजित शङ्खधर साख्वा:को प्रतिमामा माल्यार्पण तथा सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने कार्यमा सम्पूर्ण राजनीतिक दल र समाजका सबै वर्ग–समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारले २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्न जिम्मेवारी पाएको विदितै छ । सरकारसँग नेपालको संविधानअनुसार जेनजीको यथोचित आवाजलाई सम्बोधन गरी नेपाली जनतालाई सेवा दिनुपर्ने दायित्व छ । लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध छ ।”
गत भदौ २३ र २४ गते जेनजीले देशमा व्याप्त चरम भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको बताइन् । नेपाल राष्ट्र बैङ्कद्वारा निष्कासन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाइने प्रधानमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरिन् ।
सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णयले सरकार यस संवत्को संवर्द्धन, प्रवर्द्धन र व्यावहारिक रूपमा लागू गर्न तत्पर रहेको स्पष्ट भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयमा नेपाल संवत्को प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै यसको अनुगमनका लागि प्रतिष्ठानसँग सहकार्य गर्नेसमेत बताइन् ।
शङ्खधर साख्वा:को समाज र देशप्रतिको अतुलनीय योगदान तथा सामाजिक न्यायको महान् कार्यको कदरस्वरूप ९३६ सालमा थालनी भएको नेपाल संवत् कुनै राजाको शक्ति वा युद्धको विजयबाट नभई व्यापारीको त्याग र परोपकारको आधारमा लोकस्तरबाट उत्पत्ति भएको भएकाले यो उच्च महत्त्व र लोककल्याणको विरासत बोकेको संवत् भएको चर्चा गरिन् ।
नेपाली समाजमा गरिबी र असमानताको अन्त्य गर्दै जनताको आर्थिक स्तर वृद्धि गर्न साख्वा:ले देखाउनुभएको मार्गमा लाग्नु आवश्यक रहेको औँल्याउँदै प्रधानमन्त्री कार्कीले शङ्खधर साख्वा:ले जस्तै व्यक्तिगत हितभन्दा सामूहिक हित र दलगत हितभन्दा माथि राष्ट्रिय हितलाई आत्मसात् गरी हिँड्न सके मात्र हाम्रो राष्ट्रिय अभिष्ट पूरा हुने बताइन्। कार्यक्रममा उनले साख्वा:को शालिकमा माल्यार्पण गर्नुका साथै प्रतिष्ठानद्वारा प्रकाशित बुलेटिन विमोचन गरिन्। उनले संस्कृतिविद् छत्रबहादुर कायस्थ र नेपा: पासा पुच: अमेरिकालाई शङ्खधर सिरपाद्वारा सम्मान गरिन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रतिष्ठानका पूर्वअध्यक्षहरु श्यामकृष्ण मानन्धर, मदनकष्ण श्रेष्ठलगायतले शङ्खधर साख्वा:बारे खोज तथा अनुसन्धानलाई अझै तीव्र बनाउँदै नेपाल संवत्लाई सम्पूर्ण रूपमा व्यवहारमा ल्याउनु पर्ने बताए ।







