काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब रु. चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा रु. चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा रु. ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कूल रु. पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले रु तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ ।
पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट रु. दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र रु. ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा रु एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ ।
त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा रु. एक खर्ब चार अर्ब ७० करोड छ । चीनबाट रु एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा रु. १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ ।
नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट रु. चार करोड एक लाखको आयात हुँदा रु. २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग रु २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ । जर्मनी, रोमानिया, स्वीडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ ।
पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा रु. १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रु. २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र रु. १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ । यो अवधिमा रु. १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।







