काठमाडौँ। अर्थ मन्त्रालयले तीनवटा सुरक्षा निकायलाई २५१ वटा सवारीसाधन खरिद गर्न स्रोत सहमति प्रदान गरेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विभिन्न सरकारी निकायका गाडीहरूमा आगजनी र तोडफोड भएको थियो। सो घटनापछि मन्त्रालयले आफ्ना मातहतका कार्यालयका लागि नयाँ गाडी नकिन्ने निर्णय गरेको भए पनि, सुरक्षासम्बन्धी आवश्यकताका कारण तीन निकायका लागि स्रोत सहमति दिएको हो।
अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार, राष्ट्रिय अनुसन्धान विभागका लागि ६ वटा, नेपाल प्रहरीका लागि १७५ वटा, र सशस्त्र प्रहरीका लागि ७० वटा सवारीसाधन खरिदका लागि स्वीकृति प्रदान गरिएको हो।
वर्तमान सरकारले जेनजी प्रदर्शनपश्चात प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकेको छ। सुरक्षा व्यवस्था सुदृढ बनाउन आवश्यक तयारीका रूपमा गाडी खरिदको स्वीकृति दिइएको बताइएको छ।







