काठमाडौँ । नेतृ रामकुमारी झाँक्रीले आफूलगायतका ६ नेताहरूमाथि कारबाही गरेर माधव कुमार नेपालले आफ्नै बेइज्जत गरेको टिप्पणी गरेकी छन् । पूर्वप्रधानमन्त्री माधव नेपाललाई सम्बोधन गर्दै उनले भनेकी छिन्– ‘आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड । ‘
झाँक्रीले शुक्रबार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै ‘आफ्नै बेइज्जती हुने कारवाही त नगरेको भए पनि हुने कमरेड ?’ भन्दै प्रश्न गरेकी छन् । पार्टी विघटन भएपछिको कारबाहीको कुनै अर्थ हुन्छ र ? झाँक्रीले नेपाललाई प्रश्न गरेकी छन् ।
उनले अन्तिम कर्मका लागि धन्यवाद भन्दै लेखेकी छन्, ‘जिन्दगीमा के लानु छ कमरेड ? समाज र देशको लागि जीवन/जवानी अर्पण गरेको व्यक्तिले। लाने त यति त हो एउटा मिठो वा तितो स्मृति, चिया पसलमा पुग्दा बोल्ने दुई जना मान्छे। आफ्नै मलामी त कसले पो देख्छ र ? हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि। बाँकी जीवनको सुखद होस, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना छ । तपाई जहाँ रहे पनि हाम्रो अभिभावको हो। मैले यसरी सधैँ सम्झने छु।’
पार्टी एकताको दिन सहसंयोजक नेपालले झाँक्रीसहित ६ जना नेतालाई कारबाही गरेका थिए। कात्तिक १९ गते १० वाम घटकको एकता भएको थियो। एकतामा नजाने निर्णय गरेका झाँक्रीसहित ६ नेता कारबाहीमा परेका हुन्।







