काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले रवि लामिछानेलाई नजरअन्दाज नगर्न चेतावनी दिएका छन्।
रास्वपा र विवेकशील साझा पार्टीबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अर्यालले यसअघिको सरकारले लामिछाने र रास्वपालाई लखेट्न खोजेको आरोप लगाए। ‘तत्कालीन सरकारले प्रतिसोध साँधेर लखेट्न खोज्यो। प्रहरी प्रशासनमाथि राजनीतिक गर्न कोसिस गर्यो। कुनै ठाउँ बाकी राखेन,’ उनले भने।
अहिलेको सरकारले पनि तत्कालीन सरकारले जस्तो रवि लामिछाने र रास्वपालाई लखेट्न नखोज्न चेतावनी दिए। ‘यो सरकारलाई हामी टेको लगाइरहेका छौँ। टेको लगाउँछौँ,’ अर्यालले भने, ‘यो सरकारले रवि लामिछानेलाई, रास्वपालाई नजरअन्दाज गर्यो भने रास्वपाका तमाम शुभचिन्तक टुलटुल हेरेर बस्ने छैनन्।’
चुनाव गर्ने जिम्मेवारी पाएको सरकारले त्यसमै केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। आफ्नो म्यान्डेट अनुसार चल्न सरकारलाई आग्रह गर्दै अर्यालले भने, ‘सडकमा आउन बाध्य नपारियोस्। यो सरकारलाई शंका सुविधा दिँदै शान्तिपूर्ण चेतावनी पनि हो।’
विवेकशील साझासँग एकता गरेर रास्वपा ठूलो शक्ति बनेको उनको भनाइ थियो। यसलाई अझ बलियो बनाउन जेनजी समूहसँग पनि एकताको प्रयास भइरहेको उनले बताए। सभापति लामिछानेले पनि नयाँ शक्तिहरूसँग एकीकरण गर्दै जानुपर्ने सन्देश दिएको जिकिर गरे।
‘विभिन्न व्यक्ति आउँदै छन्, समूह आउँदै छन्। सबैलाई एकीकृत गरेर अगाडि बढ्ने सन्देश दिनुभएको छ,’ रविको भनाइ उद्धृत गर्दै अर्यालले भने, ‘रविजीले कारागारमा बसेर कमजोर महसुस भएको छैन, राजनीतिमा आएर कुनै त्रुटि गरेको छैन भन्नु भएको छ।’
उनले विवेकशील साझाका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै रास्वपाको समाज परिवर्तनको अभियानलाई अगाडि बढाउन बल मिलेको बताए। अर्यालले भने, ‘निलो क्रान्तिले मूर्त रूप लिँदै गएको छ। हामी अझ बलियो भएका छौँ।’







