काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित प्रथम र द्वितीय श्रेणी (नायब सुब्बा-खरिदार वा सो सरह) का कर्मचारीहरूको सरुवा, कामकाज-काज खटाउने तथा सरुवा सहमति प्रदान गर्ने प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
मन्त्रालयले २०८२ मंसिर २४ गते सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई परिपत्र जारी गर्दै लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार खुला र बढुवा प्रतिस्पर्धाका विज्ञापन प्रकाशनको समय नजिकिएकाले सरुवा प्रक्रियामा देखिएको अनियमितता रोक्न यस्तो निर्णय गरिएको स्पष्ट गरेको छ।
जसअनुसार नायब सुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी) का कर्मचारीको सरुवा-काज-सहमति २०८२ माघ मसान्तसम्म र खरिदार (द्वितीय श्रेणी) का कर्मचारीको सरुवा-काज-सहमति २०८२ फाल्गुण मसान्तसम्म स्थगित रहनेछ।
लामो समयदेखि सुगम स्थानमा कार्यरत कर्मचारीहरू बढुवा प्रयोजनका लागि मात्रै दुर्गम पदस्थापन खोज्ने क्रम देखिएको र यसले वास्तविक रूपमा दुर्गम सेवा प्रदान गर्दै आएका कर्मचारीहरूलाई अन्याय हुने भन्दै मन्त्रालयले कदम चालेको हो।
कर्मचारीको निर्वाचन, विशेष परिस्थिति तथा आवश्यक पदस्थापन बाहेक कुनै पनि सरुवा, काज वा सहमति नदिन मन्त्रालयले निर्देश गरेको छ।
आजै मात्र मन्त्रालयले १३८ नासु र ४१ खरिदार गरी १७९ कर्मचारीको सरुवा गरेको थियो ।







