काठमाडौँ । संघीय संसद् सचिवालयले उत्कृष्ट कार्यसम्पादन गरेका चार जना कर्मचारीलाई पुरस्कृत गरेको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले १९ औँ संसद्सेवा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनीहरूलाई पुरस्कार प्रदान गरेका हुन्।
सचिवालयले सहसचिव मनोजकुमार गिरीलाई सर्वोत्कृष्ट ‘संसद्सेवा पुरस्कार’, शाखा अधिकृत जयराम खड्कालाई ‘उत्कृष्ट संसद्सेवा पुरस्कार’ तथा प्राविधिक नायब सुब्बा कृष्णकला पौडेल र कार्यालय सहायक गणेश महर्जनलाई ‘संसद्सेवा पुरस्कार’ प्रदान गरेको हो । पुरस्कारको राशि क्रमशः एक लाख, रु. ७५ हजार र रु. ५० हजार रहेको छ ।
त्यसअवसरमा संसद् सेवाका अन्य चार जना माली, कुचिकार, चालक र कार्यालय सहयोगीलाई पनि प्रोत्साहनस्वरुप नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसअघि कार्यक्रममा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष दाहालले ‘संसद्सेवा’ स्मारिका विमोचन गरेका छन् ।







