काठमाडौँ । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत पाएका विजयी भएका पृथ्वीसुब्बा गुरुङले कार्यकर्ताले सही मूल्यांकन गरेर न्याय दिएको बताएका छन्।
नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुवै प्यानलबाट पदाधिकारीमा मिक्स नतिजा आएको बताएका छन्।
उनले भने, ‘यो नतिजाले पार्टीको बृहत्तर एकताको लागि लागिरहने, पार्टीभित्र देखा परेका समस्याहरूको उचित समाधान गर्नुपर्छ भन्ने अठोट जाहेर गरिरहने र पार्टीको सबै पंक्ति यो ऊ नभनिकन सबै पङ्क्तिमा पुग्ने नेताहरूको कार्यकर्ताले सही न्याय दिन्छ भन्ने कुरा प्रमाणित गरेको छ।’
उनले एमाले प्रतिस्पर्धामा एउटा खारिएको पार्टी भएको जिकिर गरेका छन्।
उनले थपे, ‘प्रतिस्पर्धामा च्याम्पियन पार्टी हो एमाले, प्रतिस्पर्धामा सधैभरि जो श्रेष्ठता हासिल गर्छ, जसले चाहिँ धेरै कार्यकर्ताको मत प्राप्त गर्छ। अझ बढी सुदृढ भएर लैजाने काम गर्छ। हामी सबै जनताको बहुदलीय जनवादका चेलाहरू हौँ। जनताको बहुदलीय जनवादले कार्यकर्ताले पत्याएको मान्छे, विश्वास गरेको मान्छेले पार्टी चलाउनु पर्छ भन्ने हो।’
अध्यक्षदेखि सबै पदाधिकारी निर्वाचनबाट चयन गर्ने दुनियाँको कम्युनिस्ट पार्टीमा सबभन्दा पहिलो अभ्यास गरेको जिकिर गरे। उनले अब एमाले संगठनात्मक रूपमा अझ सुदृढ भएर जाने बताए।
उनले भने, ‘राजनीतिक रूपमा अझ मुलुकको नेतृत्व गर्ने पार्टी, लोकप्रिय पार्टीको रूपमा स्थापित हुन्छ। राष्ट्रिय स्वाधीनताको जुन आन्दोलन छ, त्यो आन्दोलनको नेतृत्व अझ चाहिँ जोडदार ढंगले गर्ने चाहिँ कुरामा उसले आफ्नो सामर्थ्य हासिल गर्छ।’
उनले प्यानलगत रूपमा आफूहरू लडेको भए पनि सबैको योग्यता, क्षमताअनुसार कामको जिम्मेवारी दिने बताए।
उनले थपे, ‘यो लोकतान्त्रिक अभ्यास नै हो। त्यस कारणले हार्ने साथीहरूले पनि सानो चित्त नगर्नुस्। अब जित्ने साथीहरूलाई मात्त लाग्नु भएन। सबैले जिम्मेवारी पाउनुहुन्छ।’







