काठमाडौँ । नेपाल प्रहरीले जेन जेड आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले मानव बेचबिखन, अपहरण शरीर बन्धक डाँका र संगठीत अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका र जेनजी आन्दोलनका क्रममा भागेका दुई जनालाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको टोखाका ४६ वर्षीय श्यामलाल डंगोल र नुवाकोट शिवपुरीका ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम रहेका छन् । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले पक्राउ डंगोलले मानव बेचबिखन र गौतमले अपहरण शरीर बन्धक डाँका र संगठीत अपराधमा कैद भुक्तान गरिरहेको बताए ।
पक्राउ दुवैलाई कैद भुक्तानका लागि आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रवक्ता श्रेष्ठले बताए ।







