जनकपुर । जनकपुरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय सप्तरीको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा प्रशासनिक सेवा प्रवाह, सुरक्षा व्यवस्था तथा समन्वयको अवस्थाबारे जानकारी लिइएको बताइएको छ। गृहमन्त्री अर्यालले शान्ति-सुरक्षा सुदृढीकरण, प्रशासनिक कार्यक्षमता अभिवृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

सो टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख आनन्द काफ्ले तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको उपस्थिति रहेको थियो।
गृहमन्त्री अर्याल प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका हुन्। गोष्ठीमा प्रदेशको समग्र सुरक्षा अवस्था, सीमा सुरक्षा, अपराध नियन्त्रण तथा अन्तर-निकाय समन्वयका विषयमा छलफल हुने जनाइएको छ।







