काठमाडौँ । नेपाल र बांङ्लादेशबीचको आठौँ वाणिज्य सचिवस्तरीय बैठक आज ढाकामा सुरु भएको छ। बैठक २०२६ जनवरी १३ र १४ तारिखमा सञ्चालन हुनेछ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव डा. रामप्रसाद घिमिरेले गरिरहेका छन् भने बांङ्लादेशी प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य सचिव महबुबुर रहमानले गरेका छन्।
बैठकमा द्विपक्षीय व्यापार, पारवहन, भौतिक तथा यातायात कनेक्टिभिटी र लगानीलगायत क्षेत्रहरूमा सहकार्य विस्तारका उपायहरूबारे विस्तृत छलफल हुने जनाइएको छ। विशेष गरी नेपाल-बांङ्लादेश व्यापार प्रवर्द्धनका लागि भन्सार दर, परा–भन्सार तथा गैर-भन्सार अवरोधहरू न्यूनीकरण गर्ने विषयमा छलफल केन्द्रित रहनेछ। साथै प्राथमिकतायुक्त व्यापार सम्झौतासम्बन्धी जारी वार्तालाई शीघ्र टुंगोमा पुर्याउने विषय पनि बैठकको मुख्य एजेन्डामा रहेको छ।
त्यसैगरी व्यापार तथा पारवहन सहजीकरण, सडक तथा रेलमार्ग कनेक्टिभिटी विस्तार, हवाई सम्पर्क सुदृढीकरण तथा अल्पविकसित मुलुकको श्रेणीबाट सहज, क्रमिक र दिगो रूपमा उक्लिने प्रक्रियामा आपसी सहकार्यका विषयमा पनि दुवै पक्षबीच विचार-विमर्श हुने बताइएको छ।
नेपाल र बांङ्लादेशबीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको यो बैठकले द्विपक्षीय सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।








