काठमाडौँ। प्रहरी भन्दै लुटपाट गर्ने व्यक्ति लागु औषध तथा सुनको सिक्रीसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेपलान्चोक, पनौती नगरपालिका ५ घर भई हाल काठमाडौँ-९ बस्ने ३३ वर्षीय आकाश भन्ने बिक्रान्त केसी रहेका छन् ।
उनलाई प्रहरीले गत पुस २५ गते काठमाडौँ महानगरपालिका-८ शम्भुमार्ग नजिक प्रहरी हुँ भन्दै केही व्यक्तिहरूलाई ठगी गर्दै हिँडेको अवस्थामा पक्राउ गरेको हो ।
उनको डेरा कोठा खानतलासी गर्दा फेला परेको लागु औषध निटापाम लेखिएको २२ पत्ता, सुनको सिक्री थान १ र सुनको मुन्द्रा १ जोरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ ।
उनीविरुद्ध प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।







