काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिकामा बाख्रा पालन अनुदानको नाममा पौने २४ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
आर्थिक वर्ष २०७८-०७९ मा सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानअन्तर्गत सञ्चालन गरिएको ‘नागार्जुन दानेश्वर आधुनिक बाख्रा फार्म निर्माण’ योजनामा व्यापक अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ ।
अनुसन्धानबाट योजनामा २३ लाख ७५ हजार रुपैयाँ सरकारी रकम बदनियतपूर्वक हिनामिना गरिएको आयोगका सहसचिव एवं प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।










