काठमाडौँ । नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक (डिआइजी) गणेश केसी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आबद्ध भएका छन्।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई औपचारिक रूपमा सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन्। राप्रपाका अनुसार केसी ललितपुर निर्वाचन क्षेत्र नम्बर २ का स्थायी बासिन्दा हुन्।
पार्टीले दिएको जानकारीअनुसार ललितपुर क्षेत्र नम्बर २ मा राप्रपाले अवकाशप्राप्त महासेनानी तथा उपप्राध्यापक रघुबरराज थापालाई उम्मेदवारका रूपमा अघि सारेको छ। थापा २०७९ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए र आठ हजारभन्दा बढी मत प्राप्त गरेका थिए।
राप्रपाले पछिल्लो समय पार्टीप्रति जनसमर्थन विस्तार हुँदै गएको, सांगठनिक प्रभाव बढ्दै गएको र विभिन्न क्षेत्रका व्यक्तिहरू पार्टीमा आबद्ध हुने क्रम जारी रहेको आकलन गरेको जनाएको छ। सोही आधारमा पार्टीले अघिल्लो निर्वाचनमा प्राप्त मतको आधार सुदृढ गर्दै क्षेत्र नम्बर २ मा निर्वाचन रणनीति अघि बढाएको जानकारी दिएको छ।







