काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार तथा प्रचारमा संलग्न कार्यकर्ताहरूलाई मतदातासँग संवाद गर्दा संयम र धैर्य अपनाउन निर्देशन दिएका छन् । उनले मतदाताका जिज्ञासा र प्रश्नलाई गम्भीरतापूर्वक सुन्न र पार्टीले अघिल्ला अवधिमा गरेका कामबारे स्पष्ट जानकारी दिन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा अध्यक्ष ओलीले मत माग्ने क्रममा भावनात्मक उत्तेजना फैलाउने भन्दा पनि तथ्य र उपलब्धिको आधार प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन् । उनका अनुसार परिपक्व लोकतान्त्रिक अभ्यासमा मतदाताले प्रश्न गर्ने र उम्मेदवारले जवाफ दिने प्रक्रिया स्वाभाविक र आवश्यक हुन्छ ।
उनले एमाले प्रश्न र आलोचनाको सामना गर्दै विकसित भएको राजनीतिक धार भएको उल्लेख गर्दै मतदातालाई भ्रम वा बहकाउको माध्यमबाट होइन, कार्यसम्पादनको लेखाजोखा प्रस्तुत गरेर विश्वास आर्जन गर्नुपर्ने बताए ।
अध्यक्ष ओलीले डिजिटल माध्यममार्फत एकोहोरो प्रभाव सिर्जना गर्ने प्रवृत्तिको सट्टा प्रत्यक्ष संवाद, खुला विमर्श र सचेत निर्णयमार्फत मतदान गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । उनका अनुसार स्वस्थ निर्वाचन संस्कृतिले मतदातालाई सोचविचार गरेर, जानकारीका आधारमा निर्णय लिन प्रोत्साहित गर्छ ।
यस सन्देशमार्फत उनले निर्वाचन प्रक्रियामा सचेत सहभागिता, खुला बहस र उत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।







