काठमाडौँ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै धनकुटामा आचारसंहिता सम्बन्धी छलफल तीव्र रूपमा अगाडि बढाइएको छ ।
नेपाल कानुन समाज धनकुटाले विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, सरोकारवालासँग आचारसंहिता सम्बन्धी छलफल गरेको हो ।
आचारसंहिताको पूर्णरुपमा पालना गर्नका लागि सर्वपक्षीय तथा सर्वदलीय अन्तरक्रिया समेत गरिएको हो । कार्यक्रममा सहभागीले आचारसंहिता सबैले पालना गर्नुपर्नेमा सबैले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले सम्बन्धित सबैले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका विभिन्न प्रावधानबारे जानकारी गराएका थिए ।
उनले निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै सरोकारवालाले आचारसंहिताको पूर्ण पालना गर्न आवश्यक रहेको उल्लेख गरे । निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी भइरहेको बताए ।
निर्वाचन सुरक्षा योजना निर्माण, आवश्यक जनशक्तिको व्यवस्था, मतदान केन्द्रहरूको निरीक्षण, स्थानीय तहका पदाधिकारीसँग साक्षात्कार लगायतका कार्यहरू भइरहेको खड्काले बताए । कार्यक्रममा नेपाल कानुन समाजका अध्यक्ष तथा संविधानसभा सभा सदस्य उदय नेपाली श्रेष्ठ, संविधानसभा सभा सदस्य लीला सुब्बा लगायतले जिम्मेवार बने आचारसंहिता कार्यान्वयन आफैँ हुने बताए । एक निर्वाचन क्षेत्र रहेको धनकुटा जिल्लामा १ लाख १८ हजार ४२५ जना मतदाता रहेका छन् ।







