काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । जनकपुरधामको तिरुहुतियागाछीमा आयोजित काँग्रेसको प्रतिज्ञा सभामा उनलाई पार्टी केन्द्रीय सभापति गगनकुमार थापाले कांग्रेसमा स्वागत गरेका छन् ।
पार्टी प्रवेश गरेसँगै उनले रास्वपाका दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् । उनले प्रतिज्ञा सभामा बोल्दै उनले भनिन्, ‘रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले उक्त पार्टी परित्याग गरी जेन जेडको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ।’
उनले काँग्रेस ८० वर्षको विरासत बोकेको मात्रै नभई मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेशी जनताले साथ दिनुपर्ने बताइन् ।
उनले हरेक पटकको चुनावमा मधेशले नेताहरूलाई भोट दिएको तर नेताहरूले मधेसलाई चोटैचोट दिएको हुनाले यसपटक बदलिएको काँग्रेसलाई भोट दिन पनि अपिल गरिन् ।’







