काठमाडौँ । काठमाडौँको न्यूरोडस्थित पाको क्षेत्रमा सञ्चालनमा रहेको संकटा बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम हिनामिना गरिएको आरोपमा अध्यक्षसहित सात जनाविरुद्ध ठगी मुद्दा दायर गरिएको छ। प्रहरीले संस्थाका अध्यक्ष उत्तमबहादुर सिंह लाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
मुद्दामा अध्यक्ष सिंहसँगै प्रबन्ध सञ्चालक बिन्देश्वर श्रेष्ठ तथा सञ्चालन समितिका सदस्यहरू प्रविणमान सिंह, रीनादेवी श्रेष्ठ, विकास सुवाल महर्जन र लक्ष्मी महर्जनलाई प्रतिवादी बनाइएको छ। संस्थाका २८२ बचतकर्ताको रकम सम्बन्धित प्रकरणमा करिब ३७ करोड तीन लाख ३१ हजार ३६ रुपैयाँ बराबरको बिगो कायम गरिएको जानकारी प्राप्त भएको छ।
अनुसन्धानका क्रममा सहकारीमा जम्मा भएको बचत रकम जोखिमपूर्ण रूपमा घरजग्गा क्षेत्रमा लगानी गरिएको र त्यसका कारण बचतकर्ताको रकम फिर्ता हुन नसकेको आरोप लगाइएको छ। बचत फिर्ता गर्ने विषयमा पटक-पटक छलफल भए पनि समाधान ननिस्केपछि पीडित पक्षले उजुरी दिएपछि मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित निकायले सहकारी क्षेत्रको वित्तीय अनुशासन र बचतकर्ताको हित संरक्षणका लागि आवश्यक कानुनी कारबाही जारी रहने जनाएको छ।







