काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि देशका सर्वोच्च संरचना जल्न नदिने दाबी गरेका छन् ।
सोमबार झापा-५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
जेन जेड आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको ओलीको भनाइ थियो ।
‘देश जल्यो । जल्दो रहेछ । एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौँ । अब कहीँ केही जल्न पाउँदैन,’ ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरवार जलाउने छुट दिने छैनौँ ।’
शान्ति सुरक्षामा रखबारी गर्नका लागि युथ फोर्स बनाएको ओलीको भनाइ छ । ‘यो कुनै देखाउनका लागि मात्रै बनाइएको हैन,’ ओलीले भने ।
उनले सम्बोधनको क्रममा भने, ‘यो फोर्स एमालेको जनवर्गीय संगठन हो । यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्छ । नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले भन्छ-देश पहिलो । अरू कुरा भन्दा देश पहिले । त्यस मन्त्रलाई अघि राखेर फोर्सले अनुशासित ढंगले काम गर्छ । यो चुनावका लागि गठन गरिएको फोर्स होइन । सधैँका लागि हो ।’
राज्य संयन्त्रमाथि मात्रै जनता भर पर्न नहुने बताउँदै त्यसका लागि फोर्स गठन गरिएको ओलीको भनाइ छ ।







