सर्लाही। जिल्ला प्रशासन कार्यालय, सर्लाहीले निर्वाचनको मौन अवधि सुरु भएसँगै आचारसंहिता विपरीत गतिविधि नियन्त्रणमा कडाइ गरिने जनाएको छ।
कार्यालयद्वारा जारी ‘अत्यन्त जरुरी सूचना’अनुसार मिति २०८२ फाल्गुन १८ गते राति १२:०० बजेदेखि मौन अवधि सुरु भइसकेको सन्दर्भमा यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाले प्रयोग गर्ने सवारी साधनहरूमाथि सुरक्षा निकायले आवश्यक चेकजाँच गर्ने जनाइएको छ।
सूचनामा निर्वाचन आचारसंहिता विपरीत कुनै गतिविधि भएको पाइएमा प्रचलित कानुनअनुसार नियन्त्रणमा लिइने उल्लेख गर्दै त्यस्ता कार्य नगर्न/नगराउन सबैसँग अनुरोध गरिएको छ। निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गरी सहयोग गर्न प्रशासनले आग्रह गरेको छ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले सवारी साधनको प्रयोगमा कडाइ गरिएको जनाउँदै उम्मेदवारका गाडीमा समेत चेकजाँच गरिने जानकारी दिएका छन्।








