काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा अहिलेसम्म करिब ३९ प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन्। दिउँसो सवा ३ बजेसम्म नौ जिल्लाका १६ निर्वाचन क्षेत्रमा यो मतदान दर देखिएको छ।
प्राप्त विवरण अनुसार, सुदूरपश्चिम प्रदेशमा कुल १६ लाख १७ हजार ६६० मतदाता छन्। अहिलेसम्म ६ लाख ७० हजार ३६५ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
मतदानमा महिला मतदाताको सहभागिता पुरुषभन्दा बढी रहेको देखिएको छ। अहिलेसम्म ३ लाख ६१ हजार ६८९ महिला मतदाताले मतदान गरेका छन् भने पुरुष मतदाताको संख्या ३ लाख ८ हजार ६७५ रहेको छ। त्यस्तै, मतदानमा एक जना अन्य लैंगिक पहिचान भएका मतदाता सहभागी भएका छन्।
यो तथ्यांक सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतहरूले उपलब्ध गराएको जानकारीको आधारमा तयार पारिएको हो।







