१५० भन्दा बढीसँग बयान लिएर तयार गरिएको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइने
काठमाडौँ । भदौ २३ र २४ मा काठमाडौँमा भएको ‘जेन जेड’ प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रशासन विशेष स्रोतले जानकारी दिएको छ ।
सरकारले असोज ५ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा दर्जनौँ युवाहरूको ज्यान जानेगरी भएको घटनाबारे तथ्य खोज्न उक्त आयोग गठन गरेको थियो। आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्।
आयोगले घटनाबारे विस्तृत अनुसन्धानका क्रममा सरकारी अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा आन्दोलनका प्रत्यक्षदर्शीसहित १५० भन्दा बढी व्यक्तिसँग बयान लिएको जनाएको छ।
जेन जेड आन्दोलन भएको समयमा देशमा केपी शर्मा ओली नेतृत्वको सरकार थियो। त्यसबेला गृह मन्त्रीका रूपमा रमेश लेखक, गृह सचिवका रूपमा गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ कार्यरत थिए।
आयोगको प्रतिवेदन सार्वजनिक भएपछि प्रदर्शनका क्रममा भएको घटनाको वास्तविकता, जिम्मेवारी निर्धारण तथा भावी नीतिगत सुधारका सन्दर्भमा सरकारको धारणा स्पष्ट हुने अपेक्षा गरिएको छ।







