काठमाडौँ। मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई सरकारी कोषको दुरुपयोग र पदको मर्यादा उल्लंघन गरेको ठहर गर्दै सरकारी कम्पनीलाई १ अर्ब ३० करोड अमेरिकी डलर तिर्न आदेश दिएको छ।
सुनुवाइ एसआरसी इन्टरनेसनलले दायर गरेको देवानी मुद्दामा भएको हो। अदालतले रजाकलाई कम्पनीले व्यहोरेको नोक्सानीका लागि जिम्मेवार ठहर गर्दै उक्त रकम भुक्तानी गर्नुपर्ने फैसला सुनाएको मलेसियाली मिडियाले उल्लेख गरेका छन्।
न्यायाधीश अहमद फिरुज जैनोल अबिदिनले रजाकले आफ्नो पदको दुरुपयोग गरी कम्पनीलाई १ अर्ब १८ करोड अमेरिकी डलर बराबरको नोक्सानी पुर्याएको र थप १२ करोड डलर व्यक्तिगत खातामा हिनामिनासहित क्षतिपूर्ति तिर्नुपर्ने बताए।
अदालतको ठहर अनुसार रजाकले पदीय शक्ति प्रयोग गरी एसआरसीलाई ४ अर्ब रिंगिट ऋण उपलब्ध गराएका थिए, जसमा सरकारी ग्यारेन्टी उनको पहलमा जारी गरिएको थियो। यस ऋणको ठूलो हिस्सा, करिब ३ अर्ब ६० करोड रिंगिट, पर्याप्त निगरानीबिना ‘अफसोर’ खाताहरूमा पठाइएर पछि हिनामिना भएको अदालतले जनाएको छ।







