काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले औपचारिक कार्यक्रममा दिइने ‘पिर्के सलामी’ नलिने निर्णय गरेका छन्।
नवलपुरस्थित सशस्त्र प्रहरी बलको कार्यालय भ्रमणका क्रममा उनले यस्तो निर्णय सार्वजनिक गरेका हुन्। सो अवसरमा सुरक्षा निकायका अधिकारीहरूसँगको भेटघाटमा उनले औपचारिकताभन्दा कार्यसम्पादन र सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन्।
गृहमन्त्री गुरुङलाई सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण बरालले कार्यालयमा स्वागत गरेका थिए। कार्यक्रममा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, प्रहरी उपरीक्षक युवराज खड्का र राष्ट्रिय अनुसन्धान विभागका प्रहरी उपरीक्षक अभिनयकुमार सिंहलगायतको उपस्थिति रहेको थियो।
उनी आइतबार नवलपुर पुगेका थिए। त्यसअघि शनिबार राति चितवन पुगेका उनले भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा सुरक्षा निकायका उच्च अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिसँग भेट गरेका थिए। आइतबार बिहान भरतपुरमा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले उनलाई स्वागत गरेका थिए।
औपचारिक स्वागत विधिमा कटौती गर्दै कार्यकेन्द्रित अभ्यासलाई प्राथमिकता दिने सन्देशका रूपमा उक्त निर्णयलाई हेरिएको छ।







