काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धानात्मक मुद्दासम्बन्धी अपुष्ट र भ्रामक सामग्री सार्वजनिक नगर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।
परिसरका अनुसार ज्यानसम्बन्धी कसूरमा दर्ता भएको प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढिरहेको छ। सर्वोच्च अदालतको आदेश तथा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँको निर्देशनअनुसार दुवै जनालाई जमानीमा राखी अनुसन्धान जारी रहेको स्पष्ट पारिएको छ।
प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा एक युट्युब माध्यममार्फत प्रसारित श्रव्यदृश्य सामग्रीमा आएका अभिव्यक्ति र सूचनाप्रति ध्यानाकर्षण भएको जनाइएको छ।
उक्त सामग्रीका कारण अनुसन्धान प्रक्रियामा संलग्न अधिकारीहरूलाई जोडेर अनावश्यक तथा तथ्यहीन विवरण सार्वजनिक भएको भन्दै चिन्ता व्यक्त गरिएको छ।
प्रहरीले अनुसन्धान स्वतन्त्र, कानुनसम्मत र सरकारी वकिल कार्यालयको परामर्शमा सञ्चालन भइरहेको उल्लेख गर्दै यस्ता अप्रमाणित सामग्रीले सर्वसाधारणमा भ्रम सिर्जना गर्ने भएकाले जिम्मेवार ढंगले सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।








