काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आइतबार रातिको मौसम अवस्थाबारे जानकारी दिँदै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम खालको वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाले साँझ सार्वजनिक गरेको बुलेटिनअनुसार सो राति हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम प्राय: खुला रहने पूर्वानुमान गरिएको छ।
आगामी सोमबार दिउँसोको अवस्थाबारे महाशाखाले कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने र तराई क्षेत्रमा आंशिक बदली देखिने जनाएको छ। त्यस्तै, मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका-खोँचहरूमा तापक्रम उच्च रहने सम्भावना औँल्याइएको छ।
मंगलबार दिउँसो हिमाली भू-भागमा सामान्य बदली कायम रहनेछ भने कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र अन्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। सो दिन पनि मधेससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा उपत्यकाहरूमा गर्मीको प्रभाव रहने अनुमान गरिएको छ।







