काठमाडौँ । लुम्बिनी प्रदेश सभाले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक’लाई दफावार अध्ययनका लागि सम्बन्धित समितिमा पठाएको छ।
प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको बाह्रौँ बैठकले उक्त विधेयकलाई विस्तृत छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाउने निर्णय गरेको हो।
बैठकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रीको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रीले विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
यसैगरी, प्रदेश मामिला तथा कानून समितिका सभापतिले समितिको वार्षिक प्रगति प्रतिवेदन सभामा पेस गरेका थिए। सभाको अर्को बैठक आगामी सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको जानकारी दिइएको छ।
त्यसैगरी, बैठकमा संघीय सरकारले विद्यार्थी संगठनसम्बन्धी लिएको सम्भावित कदमप्रति प्रदेश सभा सदस्यहरूले चासो र प्रश्न उठाएका छन्। एक सदस्यले शैक्षिक क्षेत्रका चुनौतीको मुख्य कारण विद्यार्थी संगठन नभई समग्र शिक्षा प्रणालीको संरचनागत पक्ष भएको धारणा राखे।
बैठकमा सहभागी अन्य सदस्यहरूले कृषि क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले कृषिमा नीति कार्यान्वयन र परिणाममुखी काम आवश्यक रहेको टिप्पणी गरेका छन्।







