काठमाडौँ। बैतडीस्थित सिगास गाउँपालिकामा कार्यरत अधिकृतस्तर छैटौँ तहका कर्मचारी टीका सिंह धामीको उपचारका क्रममा निधन भएको छ।
आज (बुधबार) बिहान करिब ४:३० बजे काठमाडौँस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड अलाइड साइन्सेस अस्पतालमा ब्रेन ट्युमरसम्बन्धी शल्यक्रियापछि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
सोही गाउँपालिकाको वडा नम्बर-३ चमडेखर्क निवासी धामी स्थानीय प्रशासन सेवा अन्तर्गत लेखा समूहमा कार्यरत थिए।
गाउँपालिकाले उनको निधनप्रति शोक व्यक्त गरेको छ । गाउँ कार्यपालिकाको कार्यालयद्वारा जारी शोक वक्तव्यमा धामीको असामयिक निधनले सम्पूर्ण गाउँपालिका परिवार तथा स्थानीयवासी स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।
सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनले पुर्याएको योगदान स्मरणीय रहने जनाउँदै गाउँपालिकाले उनलाई इमान्दार, कर्तव्यनिष्ठ र अनुशासित कर्मचारीका रूपमा उल्लेख गरेको छ।
गाउँपालिकाका अध्यक्ष हरि सिंह धामीद्वारा जारी वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ। साथै, यस दुःखद घटनाप्रति औपचारिक रूपमा शोक प्रस्ताव पारित गरिएको गाउँपालिकाले जानकारी दिएको छ।







