काठमाडौँ । नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्विरोध चयन भएका छन्। सोमबार बसेको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेको हो।
निर्वाचन समितिका संयोजक तथा काँग्रेस सहमहामन्त्री प्रकाश रसाइलीले आङ्देम्बे निर्विरोध रूपमा दलको नेतृत्वमा चयन भएको जानकारी दिएका छन्।
संसदीय दलको नेतृत्व चयनका विषयमा करिब दुई महिनादेखि आन्तरिक छलफल र सहमतिको प्रयास चल्दै आएको थियो। अन्ततः आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई सर्वसम्मत रूपमा अघि बढाउने सहमति जुटाएपछि संसदीय दलको बैठकले निर्णयलाई औपचारिकता दिएको हो।
यसअघि दलको नेताका लागि अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी प्रस्तुत गर्दै आएका थिए, जसका कारण निर्णय प्रक्रियामा केही समय असहजता देखिएको थियो।







