काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापन प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित सदस्यता व्यवस्थापन सम्बन्धी बैठकमा उक्त विषयमा विस्तृत छलफल गरिएको संगठन विभागका संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिएका छन्।
बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेश तहका नेताहरू तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा सदस्यता व्यवस्थापनसम्बन्धी प्रस्तावित डिजिटल प्रणालीको प्रारूप तथा कार्यान्वयन प्रक्रियाबारे प्रस्तुति र छलफल गरिएको बताइएको छ।
त्यसैगरी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी संगठनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरेका छन्।







