काठमाडौँ । राजधानीका विभिन्न स्थानबाट सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको तथ्यांक संकलन कार्यलाई तीव्र बनाइएको छ।
यस क्रममा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हालसम्म ३ हजार १ सय ११ परिवारले नाम दर्ता गराएका छन्।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा रंगशालामै बसेर प्रभावित परिवारहरूको विवरण संकलन गरिरहेको जनाइएको छ।
दर्ता प्रक्रियाका लागि रंगशालाको पश्चिम भागमा छुट्टाछुट्टै डेस्क स्थापना गरी फारम भर्ने तथा आवश्यक कागजात संकलन गर्ने व्यवस्था मिलाइएको छ।
प्रभावित परिवारहरूको तत्कालीन आवश्यकता सम्बोधन गर्न विभिन्न सहायक सेवा पनि सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य परीक्षण, खानपानको व्यवस्था तथा राष्ट्रिय परिचयपत्र बनाउने सेवा एकै स्थानमा उपलब्ध गराइएको छ।
उक्त सम्पूर्ण व्यवस्थापन तथा समन्वयको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले सम्हालिरहेको बताइएको छ।







