काठमाडौँ । पृथ्वी राजमार्गमा बढ्दो सवारी दबाबलाई व्यवस्थापन गर्न वैकल्पिक सडक सञ्जाल निर्माणको आवश्यकता औँल्याउँदै सरकारसमक्ष नयाँ मार्ग प्रस्ताव गरिएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता राजेन्द्र पाण्डेले धार्के-गैँडाकोट जोड्ने वैकल्पिक सडक निर्माणमा प्राथमिकता दिन आग्रह गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री सुनिल लम्साल र सचिव गोपालप्रसाद सिग्देलसँग मन्त्रालयमै भेट गरी उनले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटमा उक्त योजना समावेश गर्न माग गरेका हुन्।
उनका अनुसार हाल दैनिक २० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुने पृथ्वी राजमार्ग पुनर्निर्माण र स्तरोन्नतिपछि पनि यातायात चाप निरन्तर बढिरहेको छ। वैकल्पिक मार्ग नबनाइए आगामी दशकमा यातायात व्यवस्थापन झनै जटिल बन्ने जोखिम रहेको उनले औँल्याएका छन्।
सीतापाइला-धार्के खण्डको वैकल्पिक सडक निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अब धार्केदेखि त्रिशूली नदी पार गर्दै पूर्व-पश्चिम जोडिने नयाँ सडक सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनको सुझाव छ।
प्रस्तावित मार्गअनुसार धार्केबाट गल्छी, परेवाटार, आरुवासटार, बेनीदोभान हुँदै गोरखाको घ्याल्चोक (गण्डकी गाउँपालिका) र मुग्लिन पार गर्दै पूर्वी नवलपुरको गैँडाकोटसम्म सडक विस्तार गर्न सकिने बताइएको छ। यसले पृथ्वी राजमार्गको विकल्प तयार भई यातायात दबाब घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







