काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित कर छुट अनियमितता प्रकरणमा नेपाल सरकारका सचिव तथा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
बिहीबार दायर गरिएको मुद्दासँगै प्रमुख सचिव घिमिरे स्वत: निलम्बनमा परेका छन्। उनी तत्कालीन समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत रहेका बेला कर छुटसम्बन्धी निर्णय प्रक्रियामा संलग्न रहेको आरोप अख्तियारले लगाएको हो।
अख्तियारले उक्त प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्र कार्कीलाई पनि प्रतिवादी बनाएको छ। त्यसैगरी पूर्वसचिवहरू शंकर अधिकारी, केवल भण्डारी, महेश्वर न्यौपाने र सुरेश आचार्य विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा उपकरण तथा सामग्री आयातमा दिइएको कर छुट प्रक्रियामा कानुनविपरीत निर्णय गरिएको र त्यसबाट राज्यलाई आर्थिक हानि पुगेको निष्कर्षसहित अख्तियारले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
भ्रष्टाचार निवारण ऐनअनुसार बहालवाला राष्ट्रसेवक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी स्वत: निलम्बनमा पर्ने कानुनी व्यवस्था छ। त्यसैअनुसार घिमिरे हाल प्रमुख सचिवको जिम्मेवारीबाट निलम्बित भएका हुन्।







