काठमाडौँ । लैंगिक समानतासम्बन्धी कानुनी तथा नीतिगत पक्षको अध्ययन गर्न संघीय संसद्अन्तर्गत उपसमिति गठन गरिएको छ।
राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको निर्णयअनुसार पाँच सदस्यीय उपसमिति गठन गरिएको हो। उपसमितिको संयोजन समिति सदस्य मदनकुमारी शाह (गरिमा) ले गर्नेछिन्।
उक्त उपसमितिमा सांसदहरू डा. अंकिता ठाकुर, गीता गुरुङ, प्रकाशचन्द्र परियार र रिमा विश्वकर्मा सदस्यका रूपमा रहेका छन्।
समिति सभापति गणेश कार्कीका अनुसार विद्यमान कानुनी व्यवस्थामा रहेका लैंगिक असमानताका पक्षहरूको विस्तृत अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्न उपसमिति गठन गरिएको हो।
उनले प्रचलित कानुनमा देखिएका लैंगिक असमानता हटाउन आवश्यक संशोधन र सुधारका उपाय पहिचान गर्ने उद्देश्यले अध्ययन प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।







