रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र स्विट्जरल्याण्ड सरकारका सहयोग प्रमुख माथियस मायर बीच शिष्टाचार भेटवार्ता भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको उक्त भेटमा प्रदेशको आर्थिक तथा सामाजिक विकासका प्राथमिकतामाथि छलफल भएको जनाइएको छ ।
भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्राविधिक शिक्षालाई प्रदेश समृद्धिको प्रमुख आधारका रूपमा अघि सार्दै दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन र सीपमूलक शिक्षामार्फत विकासलाई गति दिन सकिने धारणा राखे ।
उनले संघीय शासन प्रणालीलाई मजबुत बनाउन प्रदेश सरकारको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अन्तरप्रदेश समन्वय विस्तारका लागि लुम्बिनी प्रदेशले पहल गरिरहेको जानकारी दिए । साथै सातै प्रदेशका मुख्यमन्त्रीहरूको सहभागितामा गोलमेच सम्मेलन गर्ने तयारीबारे पनि उनले उल्लेख गरेका छन् ।
संघीय संरचना प्रभावकारी बनाउन तीन तहका सरकारबीच समन्वय थप सुदृढ गर्नुपर्ने आवश्यकता रहेको पनि मुख्यमन्त्रीको भनाइ थियो ।
स्वीस सहयोग प्रमुख मायरले नेपाल-स्विट्जरल्याण्डबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गर्दै संघीयता सुदृढीकरण तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य निरन्तर रहेको बताए ।
भेटवार्तामा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव कृष्णप्रसाद काप्री तथा प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लिराज अर्याल समेत सहभागी थिए ।
दुई पक्षबीच नवप्रवर्तन, प्राविधिक शिक्षा तथा दक्ष जनशक्ति विकासका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ ।







