काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा न्यायिक नेतृत्वसम्बन्धी अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षी सांसदबीच विवाद उत्पन्न भएको छ।
रास्वपाका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले कामु प्रधान न्यायाधीशको भूमिकाबारे प्रश्न उठाएपछि एमाले सांसदहरूले आपत्ति जनाएका हुन्।
अभिव्यक्तिपछि एमाले सांसदहरू आसीन हुन अस्वीकार गर्दै विरोधमा उभिएका थिए। यस क्रममा गुरु बराल, ऐन महर तथा मोहम्मद इश्तियाक राई लगायत सदस्यहरू लामो समयसम्म उभिएर विरोध जनाइरहेका थिए।
सभामुखले पटक-पटक आसन ग्रहण गर्न आग्रह गरे पनि उनीहरूले विरोध जारी राखेका थिए। निरन्तर अवरोधपछि सभामुखले सांसद ऐन महरलाई बोल्ने अनुमति दिएका थिए।
त्यसपछि बोल्दै महरले अदालतसम्बन्धी विचाराधीन विषय संसद्मा उठाइनु उपयुक्त नभएको भन्दै आपत्ति जनाए। उनले न्यायालयको सम्मानमा आँच आउने किसिमका अभिव्यक्ति सत्तापक्षका सांसदबाट आएको भन्दै त्यसप्रति असहमति जनाए।







