काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका एक वरिष्ठ प्रहरी हवल्दारविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुधबार जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरेको हो ।
आयोगका अनुसार लागू औषधसम्बन्धी मुद्दामा सहजीकरण गरिदिने, पक्राउ नगरी मिलाइदिने भन्दै सेवाग्राहीसँग उनले घुस माग गरेको भन्ने उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा उनले लागू औषधसम्बन्धी मुद्दामा सहजीकरण गर्ने तथा पक्राउ नगरी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि भएको आयोगले जनाएको छ ।
सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर कायम गर्दै बिगो ५० हजार रुपैयाँ कायम गरी कैद तथा बिगोअनुसार जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।







