काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भारतसँगको सीमा सम्बन्धमा व्यक्त गरेको भनाइबारे सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका महामन्त्री तथा सांसद कबिन्द्र बुर्लाकोटीले व्यक्तिगत धारणा भन्दा पनि पार्टीको औपचारिक दृष्टिकोण प्रस्तुत गरेका हुन्।
उनका अनुसार पार्टीले सीमा विषयलाई संवेदनशील राष्ट्रिय मुद्दाका रूपमा लिँदै स्पष्ट धारणा बनाएको छ। उनले यो विषयमा थप छलफल र संस्थागत प्रक्रिया आवश्यक रहेको उल्लेख गर्दै निर्णयहरू सम्बन्धित निकायबाटै अघि बढ्ने बताए।
बुर्लाकोटीका अनुसार नेपाली भू-भाग कुनै पनि हालतमा मिचिन नहुने र यस्ता विषय समाधान गर्न कूटनीतिक माध्यमबाट पहल गर्नुपर्ने पार्टीको स्पष्ट नीति रहेको छ।
उनले पार्टीभित्र पनि यस विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए। साथै, संसद् सञ्चालनका विषयमा पनि विभिन्न दलहरूसँग संवाद भइरहेको उल्लेख गर्दै सदनलाई अवरुद्ध नगरी अघि बढाउनुपर्ने धारणा राखे।
उनका अनुसार बजेटजस्ता महत्वपूर्ण प्रक्रियामा ढिलाइ नहोस् भनेर संसद् नियमित रूपमा सञ्चालन हुनु आवश्यक छ।







