काठमाडौँ । गुल्मीमा विद्युत् मर्मत कार्यका क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-५ छापाहिले निवासी ३० वर्षीय सूर्यबहादुर थापा रहेका छन्। उनी मालिका गाउँपालिका-३ ह्वाङ्दी क्षेत्रमा विद्युत् लाइन मर्मतका क्रममा कार्यरत थिए।
आइतबार दिउँसो करिब २:३० बजे विद्युत् पोलमा चढेर मर्मत गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि उनी पोलबाट तल खस्दा थप गम्भीर रूपमा घाइते भएका थिए।
घटनापछि प्रहरी चौकी अर्खाबाङबाट खटिएको टोलीले उद्धार गरी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्याएको थियो।
तर उपचारकै क्रममा साँझ करिब ६:५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र शव अस्पतालमै राखिएको प्रहरीले जानकारी दिएको छ।







