काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण दिए लगत्तै विपक्षी दलहरूले पुनः सदन अवरुद्ध गरेका छन्।
मन्त्री खनालले सरकारको तर्फबाट धारणा प्रस्तुत गरेपछि विपक्षी दलका सांसदहरू आसनबाट उठेर विरोध जनाएका थिए, जसका कारण बैठकको नियमित कार्यवाही केही बेर प्रभावित भएको हो।
यसपछि सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई रोष्ट्रम प्रयोग गरी आफ्ना धारणा राख्न समय दिएका छन्। उनी बोलिरहँदा भने विपक्षी दलका अधिकांश सांसदहरू आसनमा बसेका छन्।
सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसपछि सरकारको स्पष्टीकरणलाई लिएर संसदभित्र देखिएको असन्तुष्टि कायमै रहेको संकेत यस घटनाले दिएको छ।







