काठमाडौँ । आफूलाई प्रहरी भएको भन्दै सर्वसाधारणलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई वाकी-टकी र नवीकरण नगरिएको पत्रकार परिचयपत्रसहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बुधबार राति करिब ९ः२५ बजे काठमाडौँ महानगरपालिका-३२ स्थित फुटबल मैदान क्षेत्रमा एक व्यक्तिले प्रहरीले प्रयोग गर्ने वाकी-टकी सञ्चार उपकरण देखाउँदै ‘म प्रहरी हुँ’ भन्दै धाकधम्की दिएको सूचना प्राप्त भएपछि प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले ४७ वर्षीय शैलेश डंगोललाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ महानगरपालिका-३ निवासी डंगोलले प्रयोग गरिरहेको बागमती प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारीसाधनबाट ‘बाओफेङ’ ब्रान्डको एक थान वाकी-टकी सञ्चार उपकरण, सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) तथा सूचना तथा प्रसारण विभागबाट प्रभाव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधिका रूपमा जारी गरिएको तर नवीकरण नगरिएको पत्रकार परिचयपत्र बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले डंगोललाई नियन्त्रणमा लिई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी वृत्त नयाँ बानेश्वरबाट थप अनुसन्धान गरिरहेको जनाएको छ।







