काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफ्नो संगठनभित्रको तटस्थता, निष्पक्षता र संस्थागत सुधारलाई सुदृढ बनाउन राजनीतिक दल वा तिनका भातृ संगठनमा आबद्ध व्यक्तिहरूलाई रेडक्रससँगको संलग्नता त्याग्न आग्रह गरेको छ।
सोसाइटीले सार्वजनिक अनुरोध जारी गर्दै नेपाल रेडक्रस विश्व रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अभिन्न अंगका रूपमा सात आधारभूत सिद्धान्त र मानवीय मूल्य-मान्यताअनुसार निष्पक्ष र तटस्थ ढंगले कार्य गर्ने संस्था भएको उल्लेख गरेको छ।
सार्वजनिक अनुरोधमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण संस्थाभित्र विभिन्न समस्या उत्पन्न भएको भन्दै सरोकारवालाबाट समय-समयमा प्रश्न उठ्दै आएको उल्लेख गरिएको छ। यस्तै, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासंघका वैधानिक निकायबाट समेत प्रतिबन्धसम्म लगाउन सक्ने नीतिगत चेतावनी दिइसकिएको विषय स्मरण गराइएको छ।
रेडक्रसको विधानअनुसार सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक दल वा त्यसका भातृ संगठनका विभिन्न तहका पदमा रहेका तथा राजनीतिक दलको तर्फबाट शासकीय संरचनाका विभिन्न निकायमा पदाधिकारी वा सदस्यका रूपमा कार्यरत व्यक्तिहरू सोसाइटीका कुनै पनि समिति, आयोग वा उपसमितिमा सदस्य वा पदाधिकारी बन्न नपाउने व्यवस्था रहेको पनि सोसाइटीले स्पष्ट गरेको छ।
सोही व्यवस्थालाई कार्यान्वयन गर्न राजनीतिक दलसँग आबद्ध रहेर रेडक्रसका विभिन्न तहका समिति तथा संरचनामा जिम्मेवारी सम्हालिरहेका पदाधिकारी र सदस्यहरूलाई संस्थासँगको आफ्नो संलग्नताबाट अलग हुन आग्रह गरिएको छ।
नेपाल रेडक्रसले विधान विपरीत दोहोरो भूमिकामा रहेको पाइए प्रचलित विधानबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
यसैबीच, कुनै पनि तहका समिति, आयोग वा उपसमितिमा रहेका पदाधिकारी वा सदस्य राजनीतिक दलमा आबद्ध रहेको तथ्य प्रमाणसहित जानकारी भए केन्द्रीय कार्यालयमा उपलब्ध गराउन पनि सोसाइटीले सबै सरोकारवालासँग अनुरोध गरेको छ।








