काठमाडौँ । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाइ गर्दै आयोगको नेतृत्व र संस्थागत सुदृढीकरणमा उनले पुर्याएको योगदानको प्रशंसा गरेको छ।
बिदाइ कार्यक्रममा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भण्डारीले चुनौतीपूर्ण परिस्थितिमा आयोगलाई प्रभावकारी नेतृत्व प्रदान गर्दै संस्थाको गरिमा अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
उनले भण्डारीलाई सरल स्वभावका, कानुनी विषयमा दक्ष तथा जटिल परिस्थितिमा समेत मार्गदर्शन गर्न सक्ने नेतृत्वकर्ताका रूपमा स्मरण गर्दै आयोगका तर्फबाट आभार र कृतज्ञता व्यक्त गरे।
आयोगका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्तका रूपमा भण्डारीले जिम्मेवारी निर्वाह गर्ने क्रममा संस्थागत निरन्तरता, निर्णय प्रक्रियाको प्रभावकारिता तथा आयोगको विश्वसनीयता कायम राख्न उल्लेखनीय योगदान दिएका थिए।







