काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल र तत्कालीन प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीसहित सबै प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतले बिलिङ प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार भएको पुष्टि हुने पर्याप्त आधार र प्रमाण नदेखिएको ठहर गर्दै आरोपित सबैलाई दोषमुक्त गरेको हो।
न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सुनाएको फैसलामा खरिद प्रक्रियासँग जोडिएका भ्रष्टाचारका आरोप पुष्टि हुन नसकेको उल्लेख गर्दै मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने निर्णय गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको उक्त मुद्दामा टेलिकमका उच्च अधिकारीहरूमाथि बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता गरेको आरोप लगाइएको थियो। तर अदालतले अभियोजन पक्षले पेश गरेका प्रमाणबाट भ्रष्टाचार कसुर स्थापित हुन नसकेको निष्कर्ष निकालेको हो।







